प्रगति विवरण र चुनावी घोषणापत्र

पूर्ण विवरण PDF डाउनलोड गर्नुहोस्

१. हजुरको निर्वाचन जिल्ला, क्षेत्र ?

मेरो निर्वाचन क्षेत्र सिन्धुपाल्चोक जिल्ला, क्षेत्र नं. २ हो। यस क्षेत्रका मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल, इन्द्रावती र चौतारा साँगाचोकगढी (केही वडा) का नागरिकहरूको प्रतिनिधित्व गर्न म चुनावी मैदानमा छु।

२. राजनीतिमा हजुरको चासो कहिले देखि/किन ?

"राजनीति मेरो लागि 'सत्ता' वा 'शक्ति' प्राप्त गर्ने माध्यम होइन, बरु यो त 'सेवा' र 'व्यवस्थापन' (Management) को उच्चतम थलो हो। राजनीतिमा मेरो चासोका पछाडि मुख्यतया तीनवटा कारणहरू छन्:

  • व्यवस्थापकीय अनुभवलाई नीतिगत तहमा पुर्याउन: मैले अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङमा विद्यावारिधि (PhD) र व्यावसायिक व्यवस्थापनको क्षेत्रमा लामो अनुभव हासिल गरेँ। तर मेरो मन सधैँ आफ्नै माटोमा थियो। हाम्रो सिन्धुपाल्चोकमा साधन र स्रोतको कमी छैन, मात्र 'सही व्यवस्थापन' र 'इमानदार भिजन'को कमी छ।
  • सामाजिक संस्था मार्फत काम गर्दाका सीमा: म विगत १० वर्षदेखि 'विकासका लागि एकता' नामक संस्थाको अध्यक्षको रूपमा यहाँका विद्यालय र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष जोडिएको छु। हामीले ४६ वटा विद्यालयमा शैक्षिक सुधार गर्यौँ। तर संस्थागत रूपमा काम गर्दा एउटा सिमित घेरा हुने रहेछ।
  • युवा र शिक्षित पुस्ताको नेतृत्व आवश्यक देखिएर: अहिलेको पुस्ता 'आश्वासन' होइन 'परिणाम' खोजिरहेको छ। शिक्षित र देश-विदेश बुझेका युवाहरू अब 'किनारको साक्षी' मात्र बनेर पुग्दैन, 'चालकको सिट' मा बसेर नेतृत्व लिनुपर्छ भन्ने मेरो दृढ विश्वास हो।

३. चुनाव चिन्ह?

मेरो चुनाव चिन्ह 'टोपी' (Cap) हो। यो टोपी हाम्रो नेपाली स्वाभिमानको प्रतिक मात्र होइन, यो मेरो चुनावी अभियानमा 'बौद्धिकता' (Intellect) र 'श्रम' (Labor) को सम्मान गर्ने चिन्ह पनि हो।

४. हजुरको एजेन्डा ?

  • दिगो पूर्वाधार: मेलम्ची र हेलम्बु क्षेत्रको बाढी पछिको स्थायी पुनर्निर्माण र सडक सञ्जालको स्तरोन्नति।
  • प्रविधि र शिक्षा: हाम्रो निर्वाचन क्षेत्रमा डिजिटल साक्षरता र सीपमूलक आधुनिक शिक्षाको ग्यारेन्टी।
  • युवा स्वरोजगार: कृषि र पर्यटनलाई प्रविधिसँग जोडेर युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न 'होम-स्टे' र साना उद्योगको प्रवर्धन।

५. चुनावमा होम्मिनुको उद्देश्य के ?

मेरो मुख्य उद्देश्य 'भ्रष्टाचार मुक्त सुशासन' र 'नतिजामुखी विकास' हो। म एक स्वतन्त्र उम्मेदवारको रूपमा कुनै पार्टीको दबाब बिना जनताको काम गर्न र राजनीतिमा सुद्धिकरण ल्याउन चाहन्छु।

६. आफ्नो निर्वाचन क्षेत्रमा हालसम्म गर्नुभएको काम ?

"मैले विगत लामो समयदेखि 'विकासका लागि एकता' मार्फत सिन्धुपाल्चोक क्षेत्र नं. २ मा प्रत्यक्ष सेवा गर्दै आइरहेको छु:

  • शैक्षिक सुधार: ४६ वटा सामुदायिक विद्यालयहरूमा 'बहुकक्षा बहुस्तर' (MGML) शिक्षण सिकाइ विधि सफलतापूर्वक कार्यान्वयन।
  • क्षमता अभिवृद्धि: गत आर्थिक वर्षमा मात्रै विद्यालयहरूमा ९७ पटक स्थलगत प्राविधिक भ्रमण र शिक्षकहरूका लागि १६ वटा कार्यशाला सञ्चालन।
  • स्थानीय साझेदारी: इन्द्रावती गाउँपालिकासँगको सहकार्यमा थप १० विद्यालयमा शैक्षिक कार्यक्रम विस्तार।
  • प्रविधिमैत्री शिक्षा: मेलम्ची क्षेत्रमा ट्याबलेट मार्फत शिक्षण सिकाइ र 'हरित विद्यालय' को अवधारणा सुरु।
  • स्वास्थ्य र सचेतना: आमा समूहहरू मार्फत पोषण र सरसफाइ अभियान तथा स्वास्थ्य शिविरहरूको सञ्चालन।

७. अबको योजना ?

म विद्यावारिधि हासिल गरेको व्यक्ति र सफल व्यवसायी भएकाले मेरो योजना राजनीतिमा 'Professionalism' ल्याउनु हो। म सांसद भएपछि सिन्धुपाल्चोकलाई 'स्मार्ट जिल्ला' बनाउन आफ्नो सम्पूर्ण विज्ञता लगाउनेछु।

चुनाव मिशन: 'आत्मनिर्भर सिन्धुपाल्चोक, स्वावलम्बी नागरिक'

"मेरो लक्ष्य सिन्धुपाल्चोकलाई NGO/INGO को परनिर्भरताबाट मुक्त गराई आफ्नै खुट्टामा उभिने बनाउनु हो। हामी सधैँ दाताको मुख ताक्ने होइन, आफ्नै विज्ञता (Internal Expertise) प्रयोग गरेर विकास गर्नेछौँ।"